लोकगायिका बिमाकुमारी भन्छिन् - हिजो भात खान पाइन, आज गीत गाएर काठमाडौंमा घर

img-featured

 

लोकगायिका बिमाकुमारी भन्छिन् - हिजो भात खान पाइन, आज गीत गाएर काठमाडौंमा घर

 3905  48  3953

श्यामशितल परियार       

लमजुङ, माघ १८ –     

भररर...रानी चरी ऐशेंलुको गाँजैमा
मलाई सम्झी नरोउ आमा सम्झी साँझैमा 
हुलाकमा चिट्ठी आमा लेख्ने थिएँ खबर
जान्दिन म, मेरी आमा रुन्छु धरर......... 
       

यस्तैयस्तै मनछुने शब्दमा स्वर भर्ने अनि सँधै श्रोताको मनमा अटाउन सक्ने सफल गायिका हुन्, बिमाकुमारी दुरा । लोक गीतसंगीत रुचाउने श्रोतादर्शकको प्रिय गायिका हुन्, उनी । उनले गाएका नयाँ गीत हिजोआज खासै बजारमा आएका छैनन् । तर पनि उनी मेलापर्व, उत्सवमा हुने सांगितिक कार्यक्रममा भने निकै व्यस्त छिन् । ६ हजार बढी लोक गीतमा आवाज भरिसकेको बताउने गायिका दुराले ‘आज जे छु’ त्यो सबै श्रोतादर्शकको मायाले भएको गुन सम्झिन्छिन् ।  

दुःखमै बित्यो बाल्यकाल          

लोकगायिका बिमाकुमारी दुराको जन्म लाहुरे घरानामा भयो । तर बाल्यकाल भने दुःखमै बित्यो । ८ वर्षको उमेरदेखि नै उनी मेलापात, घाँसदाउरा गर्न थालिन् । गोठालो जानु दैनिकी नै थियो । पढाई÷लेखाई भएन । यद्यपी कला र गलाले उनी नेपाली लोकसांगितिक आकाशमा चम्किलो तारा बनी उदाउन सफल भइन् । लमजुङको सिन्दुरे भाँगुमा २०२८ सालमा उनको जन्म भएको हो ।     

‘त्यो बेला चामल, नून, तेल सबै डुम्रेबाट ल्याउनुपथ्र्यो, खासै गाडी चल्दैनथे’ गायिका दुराले बाल्यकाल सम्झिन्, ‘लाहुरे घरानामा जन्मे पनि त्यो बेला बाबाको कमाइले भात खान पुग्थेन, चप्पल लगाउन पनि उस्तै धौँ ।’    

पेन्सन थाप्न जाँदा बुबाले माया गरी ‘भक्कु चप्पल’ ल्याइदिएको उनी आज पनि सम्झिन्छिन् । ‘त्यो बेलामा भक्कु चप्पल हुन्थे, फागुपूर्णिमा, दसैँतिहारमा लगाइन्थ्यो, अरुबेला धोएर बाकसमा राखिन्थ्यो’ उनले हाँस्दै विगत स्मरण गरिन् । 

खरानीमा लेखेरै पढेँ        

बुबाले खरानीमा चिम्टाले लेखेर बाह्रखरी पढाएको उनको भनाई छ । आफूले औपचारिक रुपमा नपढेतापनि नेपालीमा पढ्न र लेख्न सक्ने उनी बताउँछिन् । ‘नेपालीमा पढ्नलेख्न सक्छु, केही अङ्ग्रेजी पनि जानेको छु,’ उनी भन्छिन् । गाउने रहर बाल्कालदेखिकै हो । उनी मेलापात, घाँसदाउरा गर्दा गीत गुनगुनाउँथिन् । ‘मेलापात, घाँसदाउरा, गोठालो जाँदा गीत गाउँथेँ’ उनले भनिन्, ‘८ वर्षकै उमेरबाट गाउन थालेको हुँ ।’     

पाखापखेरीमा मात्रै गुनगुनाउने उनले २०४६ सालमा पहिलोचोटी ‘छोरीको जुनी...’ बोलको गीत आफ्नै आवाजमा रेकर्ड गरिन् । ‘छोरीको जुनी...., छुट्यो मायाजाल......, लमजुङ तुर्लुङकोट...., यो दाजुको मिरमिरे आँखा.....’ लगायतका गीतले आफूलाई चर्चाको शिखरमा पुर्याएको उनको भनाई छ ।     

लोकगीतमा मौलिकता हराउँदै 

मायाप्रेम, मिलनविछोड, नारी वेदनाका साथै ग्रामीण परिवेशका भाव उनको गीतमा पाइन्छ । उनको सुरिलो स्वरमा हराउने धेरै छन् । ‘६ हजार बढी गीतमा स्वर भरेँ हुँला,’ उनले अन्दाज गरिन् । आफूले गाएको गीतमा मौलिकता रहेको उनी बताउँछिन् । अहिलेका धेरै लोकगीतमा मौलिकता नभएको उनी गुनासो गर्छिन् । गीत गाएरै आफूले काठमाडौंमा घर ठड्याएको उनी सुनाउँछिन् । 

‘हिजो भात खान, खुट्टामा चप्पल लगाउन धौ थियो, आफूले गाएको गीत श्रोताले रुचाएदिए’ ४५ वर्षकी दुराले हौसिदैँ भनिन्, ‘त्यसैले त गीत गाएरै काठमाडौंमा घर बनाउन सकेँ, औँलामा सुनको औँठी लगाउन पाएँ ।’ आफ्ना शुभचिन्तकको मायाको कारणले नै आफू यो स्थानसम्म आउन सकेको उनको ठम्याइ छ ।   

आफ्नी छोरीको साथमा काठमाडौंमा बस्दै आएकी छन्, गायिका दुरा । छोरीले ब्याचलर पढ्दै छिन् । 

नौँ डाँडा काटेर पारी    
छोडी आएँ लमजुङको घरबारी 
लमजुङ तुर्लुङ्कोट 
सररर..हावा चल्यो लाँकुरीको बोट  
   

उनले गीत पनि सुनाइहालिन् । आफूलाई बिमाकुमारी दुराकै गीतले मन छुने सुन्दरबजार नगरपालिका–३, भोटेओडारका ९० वर्षे नरहरि अधिकारीले पनि बताइहाले । उनले थपे, ‘बिमा कुमारी कहलिएकी गायिका हुन् ।’