तमु साँस्कृतिक प्रतिष्ठन नेपालद्वारा तमु विद्यार्थीहरुलाई छात्रवृति वितरण

img-featured

वेल गुरुङ-पोखरा, १६ कार्तिक ।
"उच्च शिक्षा हाम्रो लक्ष्य" भन्ने मुल नारालाई आत्मा साथ गर्दै विस २०५८ सालमा स्थापना भएको तमु साँस्कृतिक प्रतिष्ठन नेपालले आज तमु विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।
 
विशेष गरेर आर्थिक अभावकै कारण ग्रामिण क्षेत्रका जेहेन्दार तमु विध्यार्थीहरुले पढाइ विचैमा छाड्नु परेको अवस्थालाई मध्य नजर गर्दै प्रतिष्ठानले हरेक वर्ष देश तथा विदेशमा वसोवास गर्ने शिक्षा प्रेमी सहयोग दाता साथै अक्षयकोष दाताहरु मार्फत छात्रवृती प्रदान गर्दै आइरहेको छ । 
 
यस वर्ष पोखरा महानगरपालिका वडा न ३ स्थित माउन्ट अन्नपुर्ण माविको सभाहलमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी निल गिरी वोर्डिङ स्कुलका संस्थापक निर्देशक रामु गुरुङले दीप प्रज्वलन गरी गर्नु भएको थियो । सोही अवसरमा उहाँले प्रतिष्ठानलाई विद्यालयको तर्फबाट नगद रु ५० हजार ५ सय ५५ छात्रवृती अक्षयकोषका लागी विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रदान गर्ने उद्घोष गर्नु हुँदै छात्रवृती प्राप्त गरेका विद्यार्थीहरुलाई छात्रवृतिको औचित्य वुझेर अध्ययन गर्न सुझाव दिनुभयो ।
 
कार्यक्रममा तमु समाज कतारका महासचिव तेज तमु, तमु साहित्यिक मन्च नेपालका अध्यक्ष गौरी तमु, प्रतिष्ठानका संस्थापक सदस्य हर्क जङ तमु, ङ्याइ तमु धिं लेखनाथका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार मन बहादुर तमु, अक्षयकोषदाता डा चन्द्र तमु लगायतले प्रतिष्ठानले ग्रामिण क्षेत्रका तमुहरुको शैक्षिक गुणस्तर सुधारका लागी खेलेको भूमिकाको प्रशंसा गर्दै छात्रवृती प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई सहित शुभकामना व्यक्त गर्नुभयो ।
 
प्रतिष्ठानले हाल सम्म १५८ जना ग्रामिण क्षेत्रका जेहेन्दार विद्यार्थीहरुलाई नगद रु ४४ लाख ४० हजार छात्रवृति प्रदान गरिसकेको र हाल देशका १३ जिल्लाका ८१ जना विद्यार्थीलाई नगद रु ८ हजारका दरमा छात्रवृति वितरण गरि रहेको प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङले बताउनु भयो ।
 
विगतका वर्षहरुमा कक्षा ७ को नतिजा,लिखित र मौखिक अन्तरवार्तामार्फत छनोट भएका विद्यार्थीहरुलाई कक्षा ८,९ र १० गरी ३ वर्ष प्रदान गरिदै आएको छात्रवृति यस वर्षबाट भने परिमार्जित शिक्षा नीतिलाई मध्यनजर गर्दै कक्षा ८ को नतिजा,लिखित र मौखिक अन्तरवार्तामार्फत छनोट भएका विद्यार्थीहरुलाई कक्षा ९,१०,११ र १२ गरी ४ वर्ष प्रदान गरिने भएको छ  ।
 
आजको छात्रवृति कार्यक्रममा तमु धिं एशोसियसन युके छात्रवृति कास्की ताङतिङस्थित हिमालय मिलन माविकी आकृति तमु र रुपाकोटस्थित चन्द्रप्रभा माविकी निर्मिका तमुलाई, अमरबहादुर÷स्वर्गीय शुभा तमु छात्रवृति कास्की अन्नपुर्ण मावि सिक्लेसकी कल्पना तमुलाई , अध्यक्ष तमु धिं नेपाल छात्रवृत्ति माछापुच्छ्रे मावि भुर्जुङखोलाका अमोल तमुलाई, तमु धिं जापान छात्रवृति तनहुँ आबुखैरेनीस्थित मित्रता माविकी प्रमिला तमु र सत्यवती मावि बन्दिपुरकी पुजा तमुलाई, मनबहादुर तथा इन्द्रकुमारी तमु स्मृति छात्रवृति स्याङ्ग्जा बिरुवास्थित अरनिको माविकी जस्मिता तमुलाई शंकर तमु र त्रिशहिद मावि पञ्चमुलका अविनास तमुलाई, धनबहादुर तमु स्मृति छात्रवृत्ति पर्वत भुकताङ्ले भुकदेउराली माविकी सन्ध्या तमुलाई, ट्रिनिटी एजुकेशन तथा साकुरा जापानिज ल्वाङ्ग्वेज छात्रवृति महेन्द्रज्योति मावि महाशिलाका सुशान तमुलाई, र दुर्गा तथा सरस्वती शाही छात्रवृति पञ्चकोशी मावि आर्थरकी सोफिया तमुलाई वितरण गरिएको हो । 
 
प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चित्र बहादुर गुरुङ र संचालन सचिव श्रीजंग गुरुङले गर्नुभएको थियो ।