सिक्लेस माघेमेलाको ठेलो/छेलो प्रतियोगीताको पुरस्कार गत वर्षको तुलनामा चार गुणले बढी, प्रथम हुनेलाई रु ४० हजार

img-featured

बेल गुरुङ-२२ पौष सिक्लेस । 
कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा माघे संक्रान्तिको अवसर पारेर खुल्ला रुपमा ठेलो/छेलो प्रतियोगीता हुन लागेको वर्षौ भइसकेको छ । लोपोन्मुख अवस्थामा रहेको परम्परागत ठेलो/छेलो प्रतियोगीतालाई सिक्लेस सभाथर परिवारले निरन्तरता दिदै आएको हो ।
 
विशेष गरेर माघे संक्रान्तिमा स्थानिय तिर्थस्थलहरु “म्हउदु” र “फैमक्यु” मा स्नान तथा पुजाआजा गर्न आउने पाहुना तथा स्थानियहरुकै मनोरन्जनका लागी तत्कालीन समयमा सुरु भएको खेल हाल खुल्ला प्रतिस्पर्धाका रुपमा संचालन भई रहेको छ ।
 
गएको वर्षसम्म प्रथम हुने खेलाडीलाई नगद रु १० हजार, दोस्रो हुने खेलाडीलाई नगद रु ९ हजार पुरस्कार साथमा प्रसंशापत्र र फेटा फूलमाला बाजागाजा सहित अविर जात्राले सम्मान गरिएकोमा यस पटक भने आयोजकले पुरस्कार राशि गत वर्षको तुलनामा चार गुणले बढाएको छ ।
 
यस पटक "सिक्लेस माघे संक्रान्ति खुल्ला परम्परागत ठेलो/छेलो प्रतियोगीता २०७५" मा प्रथम हुने खेलाडीले नगद रु ४० हजार र दोस्रो हुने खेलाडीले नगद रु ३५ हजार प्राप्त गर्ने आयोजक सभाथर परिवारले जनाएको छ । 
 
स्थानिय “सपू" मा परम्परागत रुपमा संचालन हुदै आएको खुल्ला ठेलो/छेलो प्रतियोगिताको माघ १ गते विधीवत उद्घाटन र अन्तिम प्रतिस्पर्धा २ गते हुने छ ।
 
१ गते सहभागी नभएका खेलाडी पनि २ गतेको अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् तर यसपटक आयोजकले अन्तिम प्रतिस्पर्धामा सहभागी हुने दावेदार खेलाडीले १ गते वेलुकासम्म नाम आयोजकलाई टिपाईसक्नु पर्ने जनाएको छ । ५ केजी तौल भएको ठेलो/छेलो प्रतिस्पर्धामा सहभागी हुन कुनै दर्ता शुल्क नलाग्ने पनि आयोजकले जनाएको छ ।
 
 
(आयोजकका तर्फबाट क्या. लोक कृष्ण गुरुङ र दिनेश गुरुङले दिनु भएको जानकारी)