सम्पूर्ण आमाहरु प्रति समर्पित लेख : आमा

विचार/अभिव्यक्ति - बोम्जन गुरुङ,

बुवाआमाको मायालाई मापन गर्ने कुनै साधन छैन । संसारमा सबैभन्दा ठूलो भगवान् को हुन् भन्ने प्रश्न उठेमा धेरैले मन्दिरको भगवान् सम्झन्छन् । तर वास्तवमा हाम्रो जीवनका साँचो भगवान् भनेका बुवा र आमा नै हुन् । मन्दिरको भगवान् पुज्नुहुन्छ कि पुज्नुहुन्न त्यो आफ्नो आस्था हो, आफ्नो विचार हो तर बुवाआमालाई सम्मान र माया गर्नु भने हरेक सन्तानको कर्तव्य हो । पहिला बुवा र आमालाई पुज्न र समस्यालाई बुझ्नु जरुरी छ । पुज्नु नै छ भने पहिला बुवा आमालाई पुज्नुस् अनि मात्र मन्दिरको भगवान् ।

“बुवा” र “आमा” यी दुई शब्द मिलेर बनेको चार अक्षरको भगवान् नै हाम्रो जीवनका वास्तविक भगवान् हुन् । भगवानका सबैभन्दा नजिकका साँचो प्रतिविम्व यदि कोही छन् भने ती माता र पिता नै हुन् । किनकि उहाँहरुले हामीलाई यो संसारमा ल्याएका छन्, हुर्काएका छन् र जीवनको बाटो देखाएका छन् । जीवनमा चार व्यक्तिसँग कहिल्यै विवाद गर्नु हुँदैन भन्ने भनाइ छ—मातापिता, गुरु, मूर्ख र पागल। हाम्रो जीवनमा सबैभन्दा ठूलो योगदान कसको छ भने त्यो बुवाआमाको छ । मातापिताले देखाएको मार्ग र गुरुले दिएको ज्ञान कहिल्यै गलत हुँदैन । त्यसैले हामीले उहाँहरुको मार्गदर्शनलाई सम्मान गर्दै अघि बढ्नुपर्छ ।

आउनुस् आज "आमा" शब्दको चर्चा , परिचर्चा र महत्वबारे बुझ्ने प्रयास गरौं । आमा यस्तो भगवान् हो नि यो संसारमा मर्ने हजार बाटाहरु छन् । मर्न त कोही झुण्डिएर मर्छन्, कोही विरामी परेर मर्छन्, कोही कालगतिले मर्छन् वा अनेक बाहनामा मर्छन् तर जन्मने यो धर्तीमा आउने भनेको एउटै माध्यम आमा हो । त्यसैले आमालाई खुब स्नेह गर्नु, खुब माया गर्नु र आमाको भावना बुझ्नु । अनि बल्ल भगवान् प्रसन्न हुन्छन् । आमा रोए त्यो घरको भगवान् कहिल्यै खुशी हुँदैन भनेर त्यसै भनिएको होइन ।

तपाईं जागिर गर्नुस्, दिनभरि ज्यामी काम गर्नुस्, ज्याला मजदुरी गर्नुस्, अफिसमा काम गर्नुस् साँझपख घर फर्किनुस्, आमाले बाबु आजको दिन कस्तो भयो ? त थाके होलास् है, खाजा खान आइज । ल छिटो आइज । भनेर बोलाइसकेपछि तपाईं आमाको छेउमा गएर खाजा खाँदा त्यो खाजामा पिज्जा, बर्गर र म:म नहोस् त्यो भुटेको मकै, खट्टे वा कोदो मकैको रोटी होस् । आमाले दिएको खाजा कुनै ठूला रेष्टुरेन्ट रिसोर्टमा खाएको भन्दा बढी भोक मेटाउँछ, मनमा सन्तुष्टि मिल्छ किनकि त्यहाँ आमाको प्रेम छ, ममता र स्नेह छ । 

अहिले के भन्छन् मान्छेहरु बुवा आमा मसँग बस्नुहुन्छ, बुवाआमालाई मैले पालेको छु । अरे यार हामीसँग बुवाआमालाई पाल्ने ल्याकत छ ? - छैन । बुवाआमासँग बसेको छु भन्नुमा गर्व गर्नुपर्छ । बुवाआमालाई मैले पालेको छु, राखेको छु भन्नु किमार्थ हुँदैन । बुवाआमाको ममता अगाडि तपाईं हाम्रो क्षमता केही पनि होइन । त्यसैले बुवाआमाको ममता र क्षमतामा कहिल्यै प्रश्न गर्नहुँदैन । बुवाआमालाई सम्मान र माया गर्नु हामी सन्ततीको सबैभन्दा ठूलो धर्म हो ।

अहिले कतिपय मानिसहरु आमा शब्द सुन्ने बितिक्कै निक्कै भावुक हुने गर्दछन् । कतिपयले जिउँदो हुँदा नै महत्व बुझ्छन् त कतिपयले परलोक गएपछि मात्रै महत्व बुझ्छन् । वास्तवमा "सँगै हुनेलाई भन्दा टाढा हुनेलाई र टाढा हुनेलाई भन्दा हुँदै नहुनेहरुलाई झनै महत्त्व हुने रहेछ -आमा । सायद यो समाजमा भोगाई र बुझाईको कुरा होला । आमासँगै हुँदा वा जीवितै भइराख्दाको भन्दा कयौं गुणा टाढा हुँदा वा यो संसारमा नहुँदाको क्षण फरक हुने पाईएको छ । तर नजिकबाट महसुस गर्ने सवालमा जोसँग आमाको अभाव छ नि त्यसैले बढी गर्ने गर्दछन् । आमालाई जति समय दिनुछ अहिल्यै-आजैबाट दिनुस् । किनकि भोली तपाईंसँग समय होला बुवाआमा नहोला र बुवाआमा भएको बेला तपाईंसँग समय छैन । त्यसैले जति सकिन्छ कुनै माध्यमबाट मिल्छ धेरै समय दिने गर्नुस् । भोली बुवाआमा नहुँदा तपाईसँग भएको समयको कुनै अर्थ रहँदैन ।

एउटा कथा जोडिहाल्छु - "आमाको ममता" 

एउटा परिवार थियो । घरमा एउटी विधवा आमा र उनको एउटा मात्र छोरा- त्यो पनि बिरामी । छोरा सानो हुँदा नै बुवाको मृत्यु भयो । त्यसपछि त्यो आमाको सम्पूर्ण संसार नै त्यो बिरामी छोरा बन्यो । आमाले जेनतेन गरेर एउटा सहयोगी (नोकरानी) समेत राखेकी थिइन् । त्यसपछि ती आमाले श्रीमान बितेपछि त्यही विरामी छोराको मुख हेर्दै भविष्यमा साहराको आशामा छोराभित्र आफ्नो बाँच्ने आधार देखेर ती विधवा आमाले छोरोलाई पालिन् , सुस्त मनोस्थितीको छोरो थियो । आफुले लगाएको गर-गहना बेचिन् । जिल्ला अस्पतालमा उपचार गराइन् -अहँ बीसको उन्नाइस भएन । 

छोरो कहिलेकाँही जिद्धी गरेर भन्थ्यो “आमा, मलाई चन्द्रमा चाहियो।” आमाले डब्बामा पानी राखेर त्यसमा देखिएको चन्द्रमालाई देखाउँदै भन्थिन् — “हेर बाबु, चन्द्रमा यही हो।” कहिलेकाँही टिभीमा कसैलाई देखेर छोरो मेरो “बाबा” भन्न खोज्थ्यो। बोली प्रष्ट हुन्नथ्यो । तर आमाले बुझ्थिन् र भन्थिन् —

“त्यो त बाबा होइनन्, गुरुजी हुनुहुन्छ ।” आमाले कहिल्यै झर्को मानिनन् । भनाईको तात्पर्य तोते तोते बोली, बोली नफड्किएको त्यो माथि सुस्त मनोस्थितिको त्यो बच्चा बोल्दा पनि आमाले मनको कुरा बुझेकी थिइन् । किनकि त्यो छोरो नै उनको सम्पूर्ण जीवन थियो ।

त्यसपछि उपचार गराउने असल ठूलो मान्छे बनाउने रहर आमालाई थियो नि त त्यसपछि छोरोलाई भएभरका जग्गा-जमीन सबै बेचेर उपचारको लागि काठमाण्डौ ल्याइन् । आमाले निरन्तर उपचार गरिन्, हेरचाह गरिन् । विस्तारै छोरो निको हुँदै आयो । पढाईन्, हुर्काईन् । छोरोले एसएलसी पास गर्यो । त्यो दिन आमाको जीवनकै सबैभन्दा ठूलो खुशीको दिन थियो ।

आमा छोरालाई उच्च शिक्षाको लागि काठमाडौँ पठाइन् । छोरा पढ्यो, ठूलो मान्छे बन्यो । राम्रो जागिर गर्यो । पछि व्यापार सुरु गर्यो र ठूलो सहरको सफल व्यवसायी समेत बन्यो ।

तर उता गाउँमा आमा भने बुढेसकालसँगै बिरामी हुँदै गइन् । उनलाई दिनदिनै छोराको चिन्ता लाग्थ्यो । “मेरो छोरा कस्तो होला ? के गर्दै होला ?” छोरोको सुर्ताले आमा एकदमै पीडाबोध गर्न थालिन् । 

आमालाई अझै विरामीले थला पर्दै गएपछि सँगै रहेकी सहयोगी (नोकरानी) थिईन् उनले फोन गर्दै भनिन् - “मालिक, आमालाई सञ्चो छैन, धेरै गाह्रो भएको छ । घरमा आउनुपर्यो।”

छोराले उत्तर दियो — “मलाई फुर्सद छैन। म बिजनेसमा व्यस्त छु । के भएको हो ?” नोकरानीले भनिन् —“तीन चार दिन भयो, आमाले खाना खानुभएको छैन।” त्यसपछि छोराले सहरबाट चार जना डाक्टरको टोली उपचारको गाउँ पठाइदियो । डाक्टरहरूले जाँच गर्दा भने —“आमालाई कुनै ठूलो रोग छैन। तर उहाँले खाना खानुहुन्न।” डाक्टरले छोरालाई फोन गरेर भने — “खाना नै नखाएपछि हामीले कसरी उपचार गर्ने ?”

त्यसपछि छोरो रिसाउँदै गाउँ आयो । आमामाथि रीस पोख्यो 

आमा थरथर थरथर हात कमाउँदै बोल्न खोज्यो, बोली बुझिदैन । छोरो फेरि झर्किन्छ - "के बोल्छिन् यिनी ? मैले त केही पनि बुझ्दिन । खाना खाउँ भन्दा नखाने डाक्टरले रोग छैन भन्छ भएको हो के ?" छोरो आमामाथि करायो । “के बोल्छिन् यिनी ? मैले त केही बुझ्दिन। खाना खाँदिनन्, डाक्टरले रोग छैन भन्छन् । आखिर भएको के हो ?” त्यही बेला छेउमा बसेकी नोकरानी आँसु झार्दै भनिन् —“मालिक, सानोमा तपाईं बोल्न सक्नुहुन्नथ्यो । बोली लड्बडाउँथ्यो । तर तपाईंको आमाले तपाईंको मनको कुरा बुझ्नुहुन्थ्यो । तपाईंलाई माया गर्नुभयो, उपचार गर्नुभयो । तर आज आमा बोल्न सक्नुहुन्न। बोली लड्बडाएको छ । तर तपाईंले उहाँको मनको कुरा बुझ्न सक्नुभएन । ”नोकरानीले फेरि भनिन् —“आमा यही भन्नुहुन्छ —"बाबु, मसँग बस् न । तैंले ख्वाएको खाना खाएँ भने अलि बाँच्छु जस्तो लाग्छ । तर म अब धेरै दिन बाँच्दिन ।" यो सुनेपछि छोरो भक्कानियो । आँसु झार्दै खाना लिएर आमाको ओछ्यानमा पुग्यो ।

“आमा, आँ गर्नु न… म तपाईंलाई खाना खुवाउँछु । मैले तपाईंको मनको कुरा बुझ्न सकिन । मलाई माफ गरिदिनुस् ।”

तर आमा मुख खोल्न सकिनन् । छोरोले जसोतसो मुख मिलाएर खाना खुवायो । तर आमा खाना चपाउन सकिनन् । खाना त्यतिकै मुखमा रह्यो । केहीबेरपछि छोरोले आमालाई उठाउन खोज्यो । तर आमा हातबाट फुत्किएर भुइँमा ढलिन् । त्यतिबेला मात्र थाहा भयो — आमा त प्राण त्याग गरिसक्नुभएको रहेछ । त्यसपछि छोरो रोयो, करायो । “आमा, एक गाँस खाना खानु न। म अब तपाईंको साथमै बस्छु । जीवनभर सेवा गर्छु ।” तर अब समय बितिसकेको थियो । आमा साथमा थिइनन् ।

जब आमा रहिनन् - उ रोयो, करायो । आमा खाना खानुन भन्दै चिच्यायो । एक गाँस खाना खानु न, तपाईंसँग बस्छु, जीवन भर सेवा गर्छु भनेर पीडामा छट्पटायो । अब त्यसपछिको समय के समय जतिबेला आमा साथ छैन । आज बेलैमा सन्तानले आमाको ममता नबुझदिदाँ, मनको कुरा नबुझ्दा, आमालाई समय नदिँदा हरेक घरमा यस्तै यस्तै समस्या छ । यहाँ कथाले भन्न खोजेको कुरा सकिन्छ भने हामीले आमालाई बेलैमा माया, हेरचाह र समय दिनुपर्छ । त्यसैले जति सकिन्छ आमालाई समय दिनुहोस् । माया दिनुहोस् र उत्तिकै हेरचाह पनि । आमा सधैं हाम्रो साथमा रहँदैनन् ।

त्यसैले जति सकिन्छ —

उहाँहरूलाई माया दिनुहोस्,

समय दिनुहोस्,

हेरचाह गर्नुहोस् ।

किनकि एकदिन यस्तो समय आउन सक्छ —

जब तपाईं रोइरहनुहुन्छ,

तर सुन्ने आमा तपाईंको साथमा हुनुहुन्न ।

जुन काखमा राखेर आमाबाबाले हामीलाई हुर्काए, रातभर निद्रा त्यागेर हाम्रो सास गने, त्यही काख आज उनीहरूका लागि किन टाढा बन्दैछ ? आज हामी भन्छौं—फुर्सद छैन, जागिर छ, काम छ… तर कहिल्यै सम्झियौं कि, हाम्रो एक मुस्कानका लागि आमाले आफ्ना सपनाहरू त्यागिन्, बाबाले आफ्ना पीडाहरू लुकाएर हाम्रो भविष्य बनाइदिए । समय फेरिन्छ, अवस्था बदलिन्छ…

तर बुढ्यौलीमा आमाबाबालाई चाहिने भनेको धन होइन,

सन्तानको साथ, मायाको स्पर्श र केही पलको न्यानोपन मात्र हो ।

अहिले त परदेशमा सन्तान यहाँ घरदेशमा तड्पिनुपरेको छ । चार दिनसम्म आइसमा राख्नुपरेको छ । सन्तान कतिबेला आउँछन् भनेर लासले सन्तान कुर्नुपरेको अवस्था छ । त्यसैले बुढेसकाल लाग्यो भने केही समय असर सेवा गर्नुहोस्, समय दिनुहोस् । हामीले सानोमा कति हेरचाह पायौं कति प्यार पायौं । भनिन्छ नी जीवनमा दुईपटक केटाकेटीपन आउँछ-सानोमा र बुढेकालमा । सानोमा पनि केटाकेटी कति कचकचे हुन्छन् नी बुढेसकालमा बुढेसकालमा पनि त्यो भएन यो भएन, त्यो चाहियो यो चाहियो । बुढेसकालमा भनेको हामीलाई झर्को लाग्ने सानोमा भन्दा सबै पुर्याईदिने हुन्छ । यो त्यो ल्याइदिनुस यसो त्यसो गर्दिनुस् । आवश्यकता परिपूर्ति नगर्दा किन जन्म दियौं, मलाई मार्दिनुस् न भन्यौं होला पनि । तर त्यस्तै गरेर जब दाँत फाल्छन् बाबाआमाले यस्तो भएन उस्तो भएन भन्यो भने हामी उल्टै कराउँछौ, जाईलाग्छौं । हुँदा हुँदा कचकच गर्यो भनेर बाबाआमालाई वृद्धाश्रमसम्मको यात्रा तय गर्न पनि पछि पर्दैनौं हामी ।

त्यसैले आमा जीवित हुन्जेल उहाँसँग गर्नुपर्ने कुराहरूः

१. कुनै एक दिन धेरै तस्बिर र भिडियोहरू सँगै खिच्नुहोस्, यी क्षणहरू कुनै दिन तपाईंका लागि सबैभन्दा बहुमूल्य सम्पत्ति बन्नेछन् ।

२. घरको काम सँगै गर्नुहोस्ः सरसफाइ, बगैंचाको काम वा सरसामान मिलाउने जस्ता काम सँगै गर्दा रमाइलो हुनुका साथै सम्बन्ध पनि बलियो हुन्छ ।

३. उहाँका लागि कुनै विचारशील उपहार किन्नुहोस् वा बनाउनुहोस्ः एउटा चिठी, हातले बनाएको उपहार, वा उहाँले वर्षोंदेखि चाहेको कुनै कुरा उपहार दिनुहोस् ।

४. उहाँका सपनाहरूको बारेमा सोध्नुहोस्ः उहाँले आफ्नो परिवारका लागि आफ्ना धेरै सपनाहरू त्याग गर्नुभएको हुन्छ, उहाँलाई सम्झाउनुहोस् कि अझै पनि ढिलो भएको छैन ।

५. उहाँसँग कुनै एउटा परम्परा सुरु गर्नुहोस्ः हप्तामा एक पटक सँगै चिया पिउने, महिनामा एक पटक फिल्म हेर्ने, वा वर्षमा ए पटक कतै घुम्न जाने-यस्ता कुराहरू सधैं यादगार रहन्छन् ।

६. उहाँसँग यात्रा गर्नुहोस्ः उहाँलाई यस्तो ठाउँमा लैजानुहोस् जहाँ जाने उहाँको सधैंको सपना थियो, एउटा छोटो सप्ताहन्तको यात्राले पनि उहाँका लागि ठूलो अर्थ राख्न सक्छ ।

७. आमा एक मात्र हुनुहुन्छः उहाँ जीवित हुन्जेल उहाँको राम्रोसँग हेरचाह गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

विविध कार्यक्रम सहित बागलुङ समाजले आउँदो जून ७ मा रजत जयन्ती मनाउने

कोरियास्थित क्षेत्रीय संस्था बागलुङ समाजले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही आउँदो जून ७ तारिक फेन्तेक

तिमीलाई भेट्ने मन छ

- प्रकाश सिधाने चैत बैशाखको तातो हावामा तिम्रो सम्झना सितल भएर आउँछ ओठ सुख्दा पनि मन भिज्छ किनकि अझै पनि तिमीलाई भेट्ने मन छ। वर्षौँ बिते, समय टाढियो तर

गौरी गुरुङको सैंप्रोल" लोकार्पण तथा विमर्श

गुरुङ साहित्यिक मञ्च नेपालद्वारा "त" ल्होसारको अवसरमा आयोजित कवि गौरी तमूद्वरा संग्राहित कविता संग्रह  "सैंप्रौल" पोखरा महानगरपालिका वडा नं