कांग्रेस कमजोर भएपछि बीपीलाई सम्झने गरेका छौं
नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहरका रुपमा लिइने नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको आज ३७ औं स्मृति दिवस हो । उनको मूलभूत मान्यता राष्ट्रियता, प्रजातन्त्र र समाजवादको औचित्यता अहिलेको अवस्थामा अझै बढेर गएको मुलुकमा चर्चा भइरहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस स्वयम् भने उनको विचारबाट अलि पर जान थालेको हो कि भन्ने आशंका पनि उब्जिरहेको छ ।
यो विषय र अन्य समसामयिक विषयलाई लिएर कोइराला परिवारकै सदस्य कांग्रेस नेता डा. शेखर कोइरालासँग हामीले आज बिहान कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. कोइरालासँग बाह्रखरीले गरेको कुराकानीका मुख्य अंशहरुः
बीपी स्मृति दिवसलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?
बीपी कोइरालाको आज ३७ औं स्मृति दिवस हो । मुलुकको अहिलेको अवस्थालाई विचार गर्दा उहाँको सान्दर्भिकता अझ बढेर गएको देखिन्छ । उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कुरा अघि सार्नु भएको थियो । उहाँले राष्ट्रियता र प्रजातन्त्र सँगसँगै जाने कुरा गर्नु भएको थियो । सबै प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याउनुपर्छ भन्ने नीति उहाँको थियो । यही मान्यता अन्तर्गत नै उहाँले राष्ट्रिय मेलमिलापको नीति लिनुभएको थियो ।
अहिले राष्ट्रियता कमजोर भएको छ । प्रजातन्त्र (लोकतन्त्र)पनि कमजोर बनाइएको छ । राष्ट्रियताको स्थान खोक्रो राष्ट्रवादले लिएको छ । लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने प्रश्न उब्जेको छ ।
लोकतन्त्र नै संकटमा भन्ने कुरा कसरी आयो ?
सरकारका कतिपय गतिविधिले गर्दा लोकतन्त्र रहन्छ कि रहन्न भन्ने प्रश्न उब्जेको छ । जस्तो सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद् सम्बन्धी विधेयक, चिकित्सा शिक्षा सम्बन्धी विधेयक, मानवअधिकार आयोग सम्बन्धी विधेयक, सूचना प्रविधि सम्बन्धी विधेयक, गुठी विधेयक लगायतले यो संकेत गरिसकेको छ ।
प्रधानमन्त्रीले सेनाको परिचालन आफू मातहतमा ल्याउन खोज्नुभएको छ । यी अवस्थाले गर्दा लोकतन्त्र खतरामा परेको आभास भएको हो ।
कांग्रेस कति संवेदनशील छ त ?
नेपाली कांग्रेस अहिले केही कमजोर भएको छ । कांग्रेस कमजोर भएको बेलामा लोकतन्त्र खतरामा पर्ने गरेको छ । लोकतन्त्रलाई जोगाउनका लागि पनि अब लोकतन्त्रमाथि आस्था राख्ने कांग्रेस छोडेर जानुभएका साथीहरुपनि फर्केर आउनु जरुरी छ । त्यसैगरी लोकतान्त्रिक विचार राख्ने अन्य दलहरुपनि एकीकृत भएर अघि बढ्नु अहिले जरुरी देखिएको छ । अहिले कांग्रेसलाई बलियो बनाइएमा नै लोकतन्त्र बलियो भएर जान्छ । त्यसैमा हामी लागिरहेका छौं ।
कांग्रेस स्वयंले चाहिँ बीपीको विचार पछ्याएको छ त ?
हामी जब सरकारमा पुग्छौं र अलि तागत बढ्छ त्यतिबेला बीपीलाई बिर्सेको हो कि भन्ने भान पर्ने गरेको छ । तर, कमजोर भएपछि हामीले बीपीलाई सम्झने गरेका छौं । अहिले कमजोर भएको बेलामा हामीलाई बीपीको विचारको सान्दर्भिकता अझै बढेर गएको छ । हामी उहाँको विचारबाट टाढा जानुहुन्न भन्ने महसुस गरिरहेका छौं । देशले नै त्यो महसुस गर्न थालेको छ ।
यहाँले राष्ट्रियता कमजोर भयो, खोक्रो राष्ट्रवाद भयो भन्नुभयो । के कुरालाई संकेत गर्न खोज्नुभएको ?
यसका लागि शुरुको कुरामा जानुस् । जब नेकपा एमाले र माओवादी मिलेर दुई तिहाइ नजिकको बहुमत ल्याए । त्यतिबेला प्रधानमन्त्री भइनसक्दै केपी शर्मा ओली रसुवागढी गएर ‘ऊ त्यहाँबाट रेल ल्याउने’ भनेर औंल्याउनुभएको थियो । त्यो किन गर्नुभयो भने उहाँले कसैलाई देखाउन खोज्नुभएको थियो । पछि व्यवहारमा के भयो सबैलाई जानकारी नै छ । अनि नेपाल अहिले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्ष राष्ट्र हो ।
सुशील कोइरालाले सन् २०१४मा सार्कको शिखर सम्मेलन काठमाडौंमा गराउनुभएको थियो । तर, नेपाल अध्यक्ष भएको बेलामा अहिले सार्क सम्मेलन नै हुन सकेको छैन । त्यतिबेला पाकिस्तान र भारतका प्रधानमन्त्रीलाई नेपालमा ल्याएर नै शिखर सम्मेलन गरिएको हो ।
तर, अहिले नेपाल अध्यक्ष छ तर शिखर सम्मेलन रोकिएको रोकियै छ । बिमस्टेकमा पनि नेपाल घिस्रिँदै हिँडिरहेको छ । बिमस्टेकको सैन्य अभ्यासमा नेपाल जाने भनेर प्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री सम्मले त्यतिबेला संसदमा र बाहिर बोल्नुभएको थियो । तर अन्तिममा कताबाट आकाशवाणी आयो उहाँहरुले नजाने भन्नुभयो । कहाँबाट आकाशवाणी आयो तपाई पत्रकारहरुले नै खोज्नुस् । यसलाई खोक्रो राष्ट्रवाद नभनेर के भन्ने ?
अनि भेनेजुएलाको प्रकरणमा सत्तारुढ पार्टीका तर्फबाट अमेरिकालाई साम्राज्यवादी भनेर तीतो पोख्ने काम गरियो । प्रचण्डजीले वक्तव्य जारी गर्नुभयो । साम्राज्यवादीको पदवी नै लगाइदिनुभयो । अहिले भेनेजुएलाका राष्ट्रपतिका छोराको नेपाल भ्रमण संयोग मात्रै होइन । यसको अर्थ छ । नेपाललाई त्यसले कमजोर बनाउने काम गरेको छ । हाम्रो विदेशनीतिको आधारभूत मान्यता भनेको असंलग्नता हो । तर त्यसलाई कमजोर पार्ने काम अहिले भइरहेको छ । त्यतिमात्रै होइन धर्मको हिसाबले पनि नेपाललाई अहिले गम्भीर अवस्था सिर्जना गर्न खोजिएको छ ।
प्रलोभनमा पारेर अहिले व्यापक रुपमा धर्म परिवर्तन गराइएको छ । स्वेच्छाले कसैले गर्छ भने अन्यथा नहोला तर जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको छ । प्रधानमन्त्री नै युनिफिकेसन चर्चको विवादास्पद कार्यक्रममा सामेल हुनुभयो । उहाँले होली वाइन खानुभयो । त्यसैले धर्मको हिसाबले देशलाई विवादमा तान्ने काम भइरहेको छ ।
अनि अमेरिकाको इण्डो प्यासिफिक नीतिमा अमेरिकी डकुमेन्टले नेपाल सोही समूहमा रहेको बताइरहेको छ । तर, नेपालले भने होइन भनिरहेको छ । अमेरिकाले तिब्बतीलाई चीन फिर्ता नपठाउ भनेको छ , उत्तर कोरियासँग सम्बन्ध नबढाउ भनेको छ । याबत् कुराहरुले गर्दा मुलुकमा खोक्रो राष्ट्रवाद कायम छ भन्ने देखाइरहेको छ । आन्तरिक रुपमा विप्लब समूहलाई वार्तामा ल्याउनुपर्नेमा त्यसो हुन नसक्दा समश्या झन् अप्ठेरोमा पर्दै गएको छ ।
विप्लबको कुरा गर्दा वार्तामा बोलाउँदा नआएकोले हिंसा मच्चाउन नदिन सरकार क्रियाशील रहेको भन्ने सरकारी तर्क छ नि ?
वार्ताको लागि खोइ पहल भएको ? एक दुईपटक नआउने भन्लान् । पहिला माओवादीले पनि कहाँ वार्तामा आउँछु भनेको थियो र ? तर, गिरिजाबाबुले घिसारेर ल्याउनुभयो । त्यसैले वार्ताबाट नै समश्याको समाधान गर्ने हो । तर, सरकारले चाहे जस्ता देखिएको छैन ।
विप्लबप्रतिको कांग्रेसको मोह अलि बढी नै भयो भन्छन् नि ?
होइन, यसमा कांग्रेसको मान्यता भनेको वार्ताबाट समश्याको समाधान हुनुपर्छ भन्ने हो ।
पृथकतावादलाई चाहिँ सरकारले अन्त्य गर्ने सफलता पाएको हो ?
यो पनि बाहिर देखिएजस्तो होइन । तपाईँहरुले बाहिरबाट त राम्रै देखिरहनुभएको छ ।
तर जबसम्म डा. सीके राउतजी अनरिप्रेजेन्टेड नेसन्स एण्ड पिपुल्स अर्गनाइजेसन(युएनपीओ)बाट बाहिरिनु हुन्न त्यतिबेला सम्म पृथकतावादको खतरा कायम रहन्छ ।
त्यसैले माथि भनिएका सबै खाले समश्याको समाधानको लागि अहिले पनि बीपीको विचार सान्दर्भिक रहेको छ ।
पाँचौं स्याङ्जा कपको भलिबल प्रतियोगिताको उपाधी सुदुरपश्चिमको पोल्टामा, उपविजेता बागलुङ समाज
स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिताको उपाधी सुदुरपश्चिम समाज दक्षिण कोरियाले चुमेको छ । सुवन
३ हजारबाट शुरु गरेको व्यवसाय अहिले ३ करोड पुग्यो-मुद्रण व्यवसायी श्रेष्ठ
५ साउन, पोखरा । प्रतिक अफसेट प्रेस महेन्द्रपुलका संचालक पदमलाल श्रेष्ठले आज भन्दा २२ वर्ष अगाडी तीन हजार रुपैंयामा संचालन गरेको व्यवसायको पुजीं
गुरुले शिष्यलाई दिने ज्ञान झरनाले पानी दिएजस्तै
नेपाल पर्यटन बोर्डले शिवकृपानन्द स्वामीलाई ‘भिजिट नेपाल २०२०’ को लागि सद्भावना दूत घोषणा गरेको छ । नेपालमा आएर अध्यात्मिक ज्ञान हासिल गरेका










प्रतिकृया दिनुहोस